सरकारले पेट्रोल र डिजेलको भाउ घटायो, नयाँ मूल्य आज रातिदेखि लागू हुने

0
Shares

सरकारले आज (शनिबार) मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर २० रुपैयाँ र डिजेलको भाउमा २९ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा मूल्य घटाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाई सर्वसाधारणलाई राहत दिने सहमति भएको उनको भनाइ छ ।

मन्त्री बडुले अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा गरेको भन्दै यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताए । बडुले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको जानकारी दिए ।

शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । सरकारको निर्णयसँगै पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटेर १७९ रुपैयाँ कायम भएको छ भने डिजेलको मूल्य २९ रुपैयाँ घटाएर १६३ रुपैयाँ कायम गरिएको छ ।

शनिबार बिहान बसेको गठबन्धनका नेताहरुको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । सरकारले गरेको सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुनेछ । हाल पेट्रोलको भाउ प्रतिलिटर १९९ रुपैयाँ र डिजेलको मूल्य हाल १९२ रुपैयाँमा कारोबार हुँदै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।