धितोपत्र दलाल कम्पनीको संख्या थप्ने कुरा हल्ला मात्र हो : धितोपत्र बोर्ड

0
Shares

धितोपत्र दलाल कम्पनीको संख्या थप गर्ने विषय बाहिर बजारमा आएको जस्तो नभएको धितोपत्र बोर्डका उच्च अधिकारीहरुले बताएका छन् । प्रक्रिया नै मिचेर धितोपत्र दलालको संख्या थप्न खोजिएको भन्ने कुरा गलत रहेको उनीहरुले बताएका हुन् ।

पछिल्लो समयमा धितोपत्र बजारको विस्तार गर्ने नाममा अर्थमन्त्रीको स्वार्थ पूर्तिका लागि धितोपत्र दलाल कम्पनीको संख्या थप्न लागिएको भन्ने कुरा बाहिर आएको थियो । तर, अर्थमन्त्रीलाई नै जोडेर धितोपत्र ब्रोकर थप्ने विषयमा सत्यता नभएको धितोपत्र बोर्डका उच्च अधिकारीले दाबी गरेका हुन् ।

“ब्रोकर सम्बन्धी बाहिर आएको हल्लालाई नपत्याए हुन्छ,” धितोपत्र बोर्डका उच्च अधिकारीले भने,“सबै जना जान्ने हुनुपर्ने भएकाले पनि समस्या बल्झिने गरेको छ ।” बजारको आवश्यकता अनुसार धितोपत्र दलाल कम्पनीको संख्यामा थप हुन सक्ने बताउँदै ती अधिकारीले धितोपत्र दलालको विषयमा बजारले अहिले सोचे भन्दा राम्रो प्रस्ताव आउने दाबी गरे ।

धितोपत्र बोर्डका अधिकारीले बजारमा आएको विषयलाई हल्ला भन्दै गरेको भएपनि नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सदस्यहरु भने ब्रोकर थप्ने विषयमा कार्यविधि बनाउन एक मत भएको अवस्था छ । नेप्सेले ब्रोकर थप्ने कार्यविधिको सन्दर्भमा आवश्यक तयारी सुरु गरिसकेको अवस्था छ । त्यति मात्र नभई धितोपत्र दलाल कम्पनीलाई अनुमति दिँदा विगतको जस्तो परीक्षा सञ्चालन गर्ने तथा सञ्चालकको मापदण्डको व्यवस्थालाई हटाउने अनौपचारिक सहमति जुटिसकेको छ ।

नेप्सेको अध्यक्षमा अर्थमन्त्रालयको बजेट महाशाखाका सह–सचिव रहेका छन् भने मन्त्रालयकै अर्का एक अधिकारी सदस्य रहेका छन् । त्यति मात्र नभई नेपाल राष्ट्र बैंकका अधिकारी समेत नेप्सेको सञ्चालक सदस्य छन् । नेपाल राष्ट्र बैंकका अधिकारी समेत यस सन्दर्भमा सहमत भएको देखिन्छ ।

धितोपत्र दलालहरुले भने विगतमा जस्तै ब्रोकर लाइसेन्स परिक्षालाई नै निरन्तरता दिनु पर्ने भन्दै आएका छन् । धितोपत्र बजारको गरिमा जोगाउने खालको सदस्य बजारमा आउनु पर्ने भन्दै एक धितोपत्र दलालले भने, “धितोपत्र बजारलाई बिगार्ने गरी ब्रोकरको अनुमति दिनु भएन, बजारको गरिमा बुझेका प्रतिस्पर्धी सदस्यहरु आएको खण्डमा समग्र बजारका लागि पनि सकारात्मक हुन्छ ।”

निश्चित व्यक्तिको स्वार्थ कै कारण धितोपत्र दलालको संख्या थपेमा धितोपत्र बजारको अवस्था अझै कमजोर र अस्थिर हुने निश्चित छ । धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीका शाखा विस्तारको अनुमति दिने क्रम समेत जारी छ ।

धितोपत्र बोर्डले आफैँले अनुमति दिएका संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गर्न नसकेको अवस्थामा उल्लेख्य संख्यामा ब्रोकर थप्नु भनेको सकारात्मक होइन । कमोडिटी मार्केटको समेत नियमनको जिम्मा लिएको धितोपत्र बोर्डले आफ्नै कमजोरीका कारण उक्त मार्केट हालसम्म पनि औपचारिक रुपमा सुरु हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।