चार कम्पनीको लिलामीमा रहेको १७ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने आज अन्तिम दिन

0
Shares

चार कम्पनीको लिलामीमा रहेको १७ लाख १६ हजार ४०१ कित्ता संस्थापक सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर लिलामीमा ल्याएका हुन् । जसमध्ये सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता संस्थापक रहेको छ । यस्तै बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक रहेको छ । यसैगरी एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक र नेपाल लाइफले ५ लाख ९७ हजार ९२१ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको थियो ।

चारवटै कम्पनीको संस्थापक सेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आज (असार १६ गते) कार्यालय समयभित्र बिक्री प्रबन्धक वा तोकिएको संकलन केन्द्र मार्फत उक्त लिलामी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स बैंकको संस्थापक बोलकबोलका लागि न्यूनतम प्रतिकित्ता १६३ रुपैयाँ, बैंक अफ काठमाण्डूको न्यूनतम १७० रुपैयाँ, एनआईसी एशिया बैंकको न्यूनतम ४५० रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरेर गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

यी सेयर खरिदका लागि विद्यमान संस्थापकहरूमा वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

सिटिजन्स बैंकको संस्थापक र बैंक अफ काठमाण्डुको संस्थापक सेयर खरिदका लागि बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीमा शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ । बैंक अफ काठमाण्डुको लिलामी सेयरको आवेदन असार १९ गते बिहान ११ बजे र सिटिजन्स बैंकको आवेदन असार १९ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने जनाइएको छ ।

एनआईसी एशिया बैंक र नेपाल लाइफको संस्थापक सेयर खरिदका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट सिलबन्दी बोलपत्र फारम लिन र बुझाउन सकिनेछ ।

यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

प्राप्त बोलपत्रहरू तोकिएका संकलन केन्द्रहरूबाट बिक्री प्रबन्धकको कार्यालयमा प्राप्त भए पश्चात् सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराइने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।