
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ‘नाडा अटो एक्स्पो २०२२’ नजिकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हटाउन माग गरेको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा बुधबार (असार २२ गते) गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै एक्स्पो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेकाे हाे ।
नाडाले यसअघि नै २०७९ सालको भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्स्पो आयोजना गर्ने निर्णय गरिसकेको छ । सो एक्स्पोका लागि स्टल बुकिङ्ग समेत भैसकेको अवस्था छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध लगाएको अवस्था छ । आगामी आर्थिक वर्षदेखि सो व्यवस्था हटाउन नाडा प्रतिनिधिमण्डलले प्रधानमन्त्री गुहारेको हो ।
सरकारले आयातित अर्थतन्त्रमा निर्भर नेपालले पहिलो पटक २०७८ पुस ५ गते २० प्रकारका वस्तुको आयातमा कडाइ गरेको थियो । त्यतिबेला विद्युतीय गाडीमा ५० प्रतिशत नगद मार्जिन र अन्य १८ प्रकारका वस्तुमा शतप्रतिशत मार्जिन व्यवस्था गरियो। त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ वैशाख १३ गते नेपाल राजपत्रमा सूचना जारी गर्दै गाडी सहित १० प्रकारका विलासिताका वस्तु आयातमा पूर्ण प्रतिबन्ध घोषणा गरेको थियो ।
जसमा जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सहित कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, तयारी चुरोट सुर्ती, हिरा, महङ्गा मोबाइल, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना, खेल्ने तास लगायत वस्तु आयातमा सरकारले पूर्ण रुपमा रोक लगाएको थियो ।
त्यसभन्दा अघि नै नेपाल राष्ट्र बैंकले आयात बढेर विदेशी सञ्चिती घट्दै गएपछि त्यस्ता वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था लागू गरेको थियो । चैतको अन्तिम साता बोलाएर एलसी नखोल्न मौद्रिक निर्देशन दिएको थियो ।
नाडाले प्यासेन्जर भेइकलमा २४५ प्रतिशतदेखि ३५० प्रतिशतसम्म कर लाग्ने स्मरण गराउँदै कुल राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान २१ प्रतिशत तथा आयातको हिस्सा ६ प्रतिशत रहेको जनाएको छ । कुल १०० अर्ब भन्दा बढी लगानी भएको अटोमोबाइल क्षेत्रमा एक लाख जनाले प्रत्यक्ष रोजगारी तथा १० लाखले अप्रत्यक्ष रोजगारी पाएको भन्दै अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रको लाइफलाइन भएको निष्कर्ष नाडाको छ ।
भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई उक्त व्यवस्था हटाउन आफू सकारात्मक रहेको बताएको नाडाले जनाएको छ । साथै प्रधानमन्त्रीले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका थिए ।
उक्त भेटघाटमा नाडा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौं वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरुले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गरेको बताउँदै निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।
नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा अटो क्षेत्रको अंश अत्यन्त सानो भएपनि योगदान भने धेरै उच्च रहेको बताएका थिए ।
सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटीको उपस्थिति रहेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया