साञ्जेन र रसुवागढीको आइपिओ आवेदक सबैले पाउने, आगामी बिहीबार बाँडफाँड

0
Shares

साञ्जेन र रसुवागढीको आइपिओ आगामी बिहीबार बाँडफाँड हुने भएको छ ।

रसुवागढीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुवै आयोजनाको आइपिओ आगामी बिहीबार बाँडफाँड गरिने भएको हो ।

आयोजनामा मागेभन्दा बढी आवेदन परेपनि आवेदक सबैले सेयर पाउने देखिएको छ । रसुवागढीका आवेदकले बढीमा ४० कित्ता शेयर पाउँदा सान्जेनकाले २० पाउने देखिएको छ ।

साञ्जेन जलविद्युतको आइपिओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख ३२ हजार ८४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । साञ्जेनले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्ड लाई छुट्यार बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ ।

यस्तै, रसुवागढीको आइपिओमा ३ लाख ७ हजार १ करोड ७६ लाख ५ हजार २१० कित्ता खरीदका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निश्कासन गरेको थियो ।

जसमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।

साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निश्कासन गरेका थिए ।

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् । दुवै जलविद्युत कम्पनीको शेयर जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तरगत निष्काशन गरिएको हो ।