कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले किसानहरुलाई उत्पादनसंगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाई थियो ।
ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।
यसैगरी कार्यक्रममा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिवी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । अरु बैंक तथा वित्तीय संस्थाहरु गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टकृत विशेषता सहित किसानहरुलाई लक्षित गरि स्थापना भएको तत्कालिन साना किसान विकास बैंक र हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. लाई अब उत्पादनसंग जोड्दै जानुपर्ने आवश्यकता रहेको उनको धारणा थियो ।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले नेपालको गरिवी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरुलाई सहयोग गर्ने एक मात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताए ।
नेपालका ५ सय ४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रुपान्तरणसंगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए ।
उनले सरकार र साझेदारसंस्थाहरुसंगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताए ।
लघुवित्तको २१ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दिका मानबहादुर खड्का लाई सम्मान गरेको थियो ।
यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा सर्वोत्कृष्ठ संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर धनुषालाई पुरस्कृत गरेको छ । यसैगरी इलाका कार्यालय बनेपा अन्र्तगत उत्कृष्ठ संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुस्कृत भएको छ । सर्वोत्कृष्ठ इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।
साना किसान विकास आयोजनाका रुपमा वि.स. २०३२ सालदेखी कृषि विकास बैंक मार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो ।
अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ ।
यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ । १० लाख भन्दा बढि घरपरिवारमा ८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया