कान्तिपुर टेलिभिजनले प्रिमियम मूल्यमा साढे ७ लाख कित्ता आईपीओ बिक्री गर्ने

0
Shares

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई साढे सात लाख कित्ता आईपीओ बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ लाख ५० हजार कित्ताले हुन आउने रकम ७ करोड ५० लाख बराबरको साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण शेयर जारी गर्ने जनाएको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडका तर्फबाट अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश प्रसाद सिरोहिया र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कान्तिपुर टेलिभिजन नेटवर्क, नेपालको निजी क्षेत्रको टेलिभिजन स्टेशन हो । यसका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश प्रसाद सिरोहिया हुन् । कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौंको तीनकुने सुविधानगरमा अवस्थित छ । टेलिभिजनले आम सर्वसाधारणमा आफ्नो प्रविधि मार्फत निरन्तर रुपमा सूचना तथा जानकारी प्रदान गर्दै आइरहेको छ ।

कान्तिपुर टेलिभिजनले वि.सं. २०६० असार २९ गते विधिवत् रुपमा प्रसारण आरम्भ गरेको र सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएकोमा २०६८ सालदेखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो ।

कान्तिपुर टेलिभिजनले हाल हाइ डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ । २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टेलिभिजन युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।