आर्थिक वर्षको पहिलो दिनमै बैंकहरुद्धारा १९ अर्ब एसएलएफ उपयोग, अन्तरबैंक ब्याजदर ७% माथि

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले साउन १ गते १९ अर्ब रुपैयाँभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ साउन १ गते १९ अर्ब १५ करोड रुपैयाँ एसएलएफको उपयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५ पटक गरेर उक्त रुपैयाँ बराबरको एसएलएफ प्रदान गरेको हो । आर्थिक वर्ष सकिँदा समेत निक्षेप सहज नहुँदा अन्तरबैंक सापटी ब्याजदर ७.०७ प्रतिशत पुगेको छ ।

असार मसान्तको विकासले बैंकिङ प्रणालीको निक्षेपमा सुधार आएको भएपनि अझैपनि स्थायी तरलता सुविधाको उपयोग भने जारी नै देखिएको हो ।

बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएपछि चालु आर्थिक वर्ष २०७८।७९ को अीनतम दिन अर्थात असार ३१ गते शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ९१ खर्ब ७० अर्ब १० करोड ६१ लाख १० हजार रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । बैंकहरुले ४ हजार ९०८ पटकमा यो रकम उठाएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम असार मसान्तभित्र ९० प्रतिशत कर्जा पुँजी निक्षेप (सिडी) अनुपात कायम गनुपर्ने बाध्यतामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले असार ३१ गते शुक्रबार ३० पटक गरेर ५३ अर्ब ७९ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । यसअघि बिहीबार र बुधबार भने क्रमशः ४० अर्ब ५२ करोड र ३१ अर्ब १६ करोड रुपैयाँ बैंकहरुले एसएलएफ उपयोग गरेका थिए । सोमबार र मंगलबार सोभन्दा कम थियो । असार २६ गते आइतबार इदको विदा दिएकोमा २७ गते सोमबार २० पटकमा २३ अर्ब ९१ करोड र २८ गते मंगलबार ३२ अर्ब ७६ करोड रुपैयाँ एसएलएफ उपयोग भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

दैनिक १० देखि १५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप बैंकिङ्ग प्रणालीमा थपिँदै गएको भएपनि मसान्त सकिँदा समेत बैंकहरुले एसएलएफको उपयोग जारी नै राखेका हुन् । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् । एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् ।

असार ३० गते बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ५१ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २२ गते बुधबारसम्ममा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पछिल्लो पाँच दिनमा मात्रै ४१ अर्ब रुपैयाँले थपिएको हो । असार ३० गतेसम्ममा वाणिज्य बैंकहरुमा ४५ खर्ब ३ अर्ब र विकास बैंक र वित्त कम्पनीमा ६ खर्ब रुपैयाँ निक्षेप छ । विकास बैंकहरुमा असार २२ गतेसम्म ५ खर्ब ९२ अर्ब निक्षेप रहेकोमा पछिल्लो पाँच दिनमा ८ अर्बले वृद्धि भएको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको लगानीमा रहेको कुल कर्जा ४६ खर्ब ७९ अर्ब रहेको छ । असार २२ गते ४७ खर्ब ३ अर्ब कर्जा लगानी थियो । यस अवधिमा विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ३० अर्ब कर्जा लगानी गरेका छन् । असार २२ गतेको तुलनामा १ अर्बले कर्जा घटेको हो ।

केन्द्रीय बैंकले आव २०७८/७९ मौद्रिक नीतिमा २०७९ असार मसान्तसम्म बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अहिले पनि बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ८६.७५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।