बैंकिङ प्रणालीमा निक्षेप बढेपछि एकल अंकमा झर्‍यो ट्रेजरी  बिलको रेट

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि निष्कासन तथा बिक्री गर्ने अल्पकालीन तथा दीर्घकालीन वित्तीय औजारको प्रतिफल घट्न थालेको छ । बैंक वित्तीय संस्थाले स्थायी तरलता सुविधा लिएर लगानी गर्दा दोहोरो अंकमा रहेको सरकारी ऋणपत्रको ब्याजदर बैंकिङ प्रणालीमा निक्षेप बढेसंगै एकल अंकमा झरेको हो ।

आर्थिक वर्षको अन्त्यमा खर्च हुने सरकारी अभ्यासले असार महिनामा बैंकिङ प्रणालीमा १४१ अर्ब निक्षेप थपिएको छ । त्यसले गर्दा पनि बैंकहरुलाई सरकारी ऋणपत्रमा लगानी गर्न सात प्रतिशतको दरमा लिएको स्थायी तरलता सुविधा प्रयोग गर्न नपर्ने भएसँगै ब्याजदर पनि घटेको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएसंगै सरकारी ऋणपत्रको ब्याजदर पनि एकल अंकमा झरेको छ । गत आवको अन्तिममा बैंकिङ प्रणालीमा थपिएको निक्षेपले सरकारी ऋणपत्रको ब्याजदर घटाउन मद्दत गरेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार साउन ३ गते मंगलबार २८ दिने ट्रेजरी  बिलको ब्याजदर ९.३८, ९१ दिनेको ९.३३, १८२ दिनेको ९.८४ र ३६४ दिनेको ९.८५ अंकमा झरेको हो । यसभन्दा अघि सबै प्रकारका सरकारी ऋणपत्रको ब्याजदर ११ प्रतिशतको हाराहारीमा थियो ।

केन्द्रीय बैंकले सरकारलाई स्रोत जुटाउन विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र ट्रेजरी विल्स मार्फत आन्तरिक ऋण उठाइदिन्छ । सरकारको आन्तरिक ऋणमा करिब ५५ प्रतिशत हिस्सा विकास ऋणपत्र रहेको छ ।

कर्जा माग उच्च र स्रोतको सीमितताका कारण ब्याजदरमा दबाब झनै बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ५ प्रतिशत रहेको बैंकदरलाई बढाएर ७ पु¥यायो । त्यतिमात्र नभई पुनर्कर्जाको ब्याजदर समेत बढाएपछि त्यसले ब्याजदरमा झनै असर गरेको थियो ।

सरकारले बैंकिङ क्षेत्रमा लगानी योग्य रकम अभावको भएको समयमा सस्तो ब्याजदर कायम गरेर आन्तरिक ऋण उठाउन नसक्ने भएपछि बढाएर दोहोरो अङ्क भन्दा माथि कायम गर्यो । सरकारको लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि चालु खर्चका लागि समेत आन्तरिक ऋण लिनुपर्ने भएपछि चर्को ब्याजदरमा आन्तरिक ऋण उठाएको थियो ।

बैंक वित्तीय संस्थाले पाउने स्थायी तरलता सुविधा अल्पकालीन भएपनि त्यसको ब्याजदर ७ प्रतिशत रहेको छ । तर, सरकारले जारी गरेका सबै वित्तीय औजारहरूको प्रतिफल १० प्रतिशत भन्दा माथि रहेको हुनाले पनि बैंक वित्तीय संस्थाले लगानी गरेका छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा ब्याजदर सरकारले तोक्ने भएपनि ट्रेजरी विल्स र विकास ऋणपत्रमा बोलकबोल मार्फत तय हुन्छ ।

सरकारका लागि नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर हालसम्मकै उच्च १२.५ प्रतिशत अफर गरेको छ । त्यसैगरी नागरिक बचतपत्रमा ११ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि नागरिक बचतपत्रमा २०५८ सालदेखि हालसम्म पनि दोहोरो अंकको ब्याजदर कायम भएको छैन । विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुँदापनि हालसम्मकै उच्च ९ प्रतिशत भन्दा माथि पुगेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।