सपना र समस्यासँगको संघर्षका माध्यमबाट वर्गिय विभेद र शासकीय ब्यवस्थामाथी ‘प्रकाश’ को प्रश्न !

0
Shares

चलचित्र ‘प्रकाश’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट १४ सेकेण्ड लामो ट्रेलर मुख्य पात्र प्रकाशकै वरिपरि घुमेको छ ।

जनयुद्धमा वेपत्ता भएको श्रीमान/बुबा फर्कने आशमा बसेका आमा छोराका माध्यमबाट चलचित्रको कथा भनिएको छ । जहाँ शिक्षक बन्ने लक्ष्य राखेर अघि बढिरहेको एक युवाले गर्ने संघर्ष र छोराको सपना पुरा गर्न आमाले गरेको त्याग र संघर्ष देखाइएको छ ।

सपना र समस्या बीचको पुल तर्न गर्ने संघर्षका माध्यमबाट नेपालको शासकीय ब्यवस्थामाथी पनि प्रश्न उठाइएको छ । सपना पूरा गर्न उच्च पदस्थ आफन्त वा पैसा विना के सम्भव छ त ? चलचित्रले अर्को प्रश्न पनि उठान गरेको छ । जनयुद्धको पृष्ठभूमि भएपनि चलचित्रले वर्गिय द्वन्द्वको कथा भनेको छ । जुम्लामा छायाङ्कन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ ।

चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित बिभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । महङ्गो रकममा विदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको हो । साथै अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

चलचित्रको सार्वजनिक पोष्टर, गीत र टिजरले हाइप क्रियट गरेसँगै बिदेश राइट्स बिक्री भएको हो ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार  ०८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।