एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, १ कित्ताको लगानी १३.१२ कित्तामा परिणत 

0
Shares

एनआईसी एशिया बैंक आजदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन स्थापना भएको बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी रजत जयन्ती मनाउन गइरहेको छ ।

बैंकले २५ वर्षको यात्रामा सेयरधनीको हितलाइ केन्द्रमा राखी आर्थिक वर्ष २०५६/५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ ।

जसको प्रतिफल आजको बजार मुल्यमा ९,५२०.९७ रुपैयाँ बराबर प्रदान गर्न सफल भएको बैंकको भनाई छ ।

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैंकले जानकारी दिएको छ ।

गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको दाबी गरेको छ ।

‘रजत जयन्तीको अवसरमा अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौं ।

नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं।’ बैंक द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत आवमा नाफा ४ अर्ब ५३ करोड

एनआईसी एशिया बैंकले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ ४ अर्ब ५३ करोड नाफा आर्जन गरेकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको दाबी छ ।

साथै, प्रति सेयर आम्दानी तर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एनआईसी एशियाको खुद नाफा ३९% बढ्यो, ४५२ करोड नाफा आर्जन

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।