लक्ष्मी बैंकको व्यवसाय वृद्धिको अनुपातमा बढेन खुद नाफा, १६० करोड आर्जन

0
Shares

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ मा १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको तुलनामा गत आवमा १.७६ प्रतिशतले नाफा वृद्धि गरेको हो । आव २०७७/७८ मा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्जा र निक्षेप संकलनमा २० प्रतिशतले सुधार गरेपनि बैंकको खर्च बढ्दा खुद नाफामा भने झिनो मात्र सुधार भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ०.८५ रुपैयाँ घटेर १३.८८ रुपैयाँमा झर्न पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.३३ गुणा बढी छ ।

चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १०.८६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको जगेडा कोष ११.१६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको केही सूचक सुधारिएका छन् भने केही घटेका छन् । बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत, फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत घटदा सञ्चालन नाफा २.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप १९.६७ प्रतिशत र कर्जा लगानी २१.६६ प्रतिशत बढेको छ ।

गत आवमा बैंकले १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी, ९५ करोड ४ लाख २० हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, २ अर्ब २८ करोड ४६ लाख ८६ रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.८९ प्रतिशत, पुँजी कोष अनुपात १२.७६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८८.९९ प्रतिशत, निक्षेप संकलन लागत ७.६२ प्रतिशत, आधार दर ९.९९ प्रतिशत र स्पेडदर ३.९४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ श्रावण २०७९, शनिबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।