शेयर बजारमा झिनो अंकको सुधार, वाणिज्य बैंकहरुको यस्तो असर


मंगलबार शेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार देखिएको छ । पछिल्ला दिनहरुमा बजारबाट लगानीकर्ता उत्साहित हुन नसकिरहेका बेला मंगलबार भने बजार सूचक २.४० अंकले उकालो लागेर ११३४.७९ अंकमा उक्लिएको छ ।

सोमबार १.३३ अंकले तल झरेको बजारमा झिनो सुधार देखिएसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । सुस्त गतिको कारोबारले मंगलबार १६ करोड रुपैंयाको मात्र शेयर किनबेच भएको छ । सोमबार १६ करोड ४३ लाख रुपैंयाको शेयर कारोबार भएकोमा मंगलबार १६ करोड ५३ लाख हाराहारीको शेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १० लाख रुपैंयाले बढेको हो ।
लामो समयदेखि बजारप्रति अन्यौल अवस्थामा रहेका लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन । जसका कारण कारोबार चाप ज्यादै सुस्त अवस्थामा छ । अझै बैंकहरुको व्याजदर बढ्न सक्ने खबरको सिधा असर बजारमा पर्दा लगानीकर्ता झनै अन्यौलको अवस्थामा छन् ।

मंगलबार १५५ कम्पनीका ६ लाख ४५ हजार ४५३ कित्ता शेयरहरु ३ हजार २३५ पटक किनबेच भएका छन् । केही दिन अघि नेप्सेमा नवीकरण नभएका कारण धेरै कम्पनीहरुको सूचीकरण स्थगन गरिएकाले कतिपय कम्पनीको शेयर कारोबार हुन सकिरहेको छैन । यसले पनि बजारलाई झनै सुस्त बनाउन मद्धत गरिरहेको छ ।

मंगलबार बजार खुलेदेखि उतारचढाव खेप्न नसकेको बजार क्रमिक रुपमा झिनो अन्तरले उकालो लागेको थियो । बजार परिसुचक सामान्य अन्तरले उकालो लाग्दै गर्दा साधारण. शेयरको कारोबार मापन गर्ने फ्लोट इन्डेक्स ०.२७ अंकले उकालो लागेर ८४.१५ अंकमा उक्लिएको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.५ अंकको सुधारसँगै २४८.४९ अंकमा उक्लिएको छ । यस्ता कम्पनीको साधारण शेयरको कारोबार मापन गर्ने सेन्सेटिभ फ्लोट पनि ०.२८ अंकले उकालो लागेर ७९.७९ अंकमा उक्लिएको छ ।

बजार सुस्त भए पनि लाभांस प्रस्तावको असर बजारमा देखिएको छ । नबिल बैंकको अधिक शेयर कारोबार भएको बजारमा प्रभु बैंक दोस्रो स्थानमा छ । त्यसै गरी कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक तेस्रो स्थानमा बस्दा एभरेष्ट बैंक चौथो, एनसीसी बैंक पाँचौं, इन्भेष्टमेण्ट बैंक छैठौं, प्राइम बैंक सातौं, नेपाल बैंक आठौं, सिद्धार्थ बैंक नवौं र मेगा बैंक दशौं स्थानमा छन् । लाभांस घोषणा भैसकेका कारण नै कारोबार रकमका आधारमा शिर्ष १० कम्पनीमा वाणिज्य बैंकहरुको दवदबा देखिएको हो । नेपाल बैंकले यस पटक लाभांस बितरण गर्ने आशमा लगानीकर्ता बस्दा उसको पनि अधिक शेयर कारोबार भैरहेको छ ।

वाणिज्य बैंक समुहमा आएको ४.४५ अंकको सुधारले समग्र बजारलाई मंगलबार सुधारको बाटोमा डोर्याएको छ । जीवन बीमा कम्पनीहरुको सूचक १९.०६ अंकले बढेको बजारमा उत्पादन समुहमा ९.४५, विकास बैंकमा १.६२, जलविद्युतमा १.३७ र लघुवित्त समुहमा १.२७ अंकको सुधार आएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको समुहमा १७.७१ अंकले गिरावट आएको बजारमा होटलमा ७.९९, अन्यमा ३.४३, वित्तमा ०.३ र सामुहिक लगानी कोषमा ०.०१ अंकको गिरावट आएको छ ।

मंगलबारको कारोबारमा धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा साना कम्पनीहरु परेका छन् ।  त्यसै गरी धेरै शेयर मूल्य घट्ने कम्पनीको सूचीमा पनि केही बीमा कम्पनी सहित साना कम्पनीको बाहुल्यता छ ।