स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए

0
Shares

स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।

तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय) तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए।

उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो रहेको छ ।

आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ । आव २०७७/७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए ।

आव २०७७/७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नेक्रम घटेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आव मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य (पसल, व्यवसाय) को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य (पसल, व्यवसाय) दर्ता भई सञ्चालनमा रहेका छन् ।

कार्यालयले गत आव २०७८/७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताए । -रासस

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।