वाणिज्य बैंकहरुबाट साउनको दुई सातामा ९१ अर्ब निक्षेप बाहिरियो

0
Shares

नयाँ आर्थिक वर्ष सुरु भएपछि बैंकहरुबाट निरन्तर निक्षेप घट्न थालेको छ । साउन महिनाको पहिलो दुई सातामा मात्र वाणिज्य बैंकहरुबाट करिब ९१ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको हो ।

बैंकहरुमा गत आर्थिक वर्षको अन्तिम महिना असार मसान्तसम्ममा १४१ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । एक महिनामा थपिएको निक्षेप मध्ये ९१ अर्ब रुपैयाँ साउनको २ सातामा नै झिकिएको छ । यो अवधिमा बैंकहरुको कर्जा प्रबाह समेत ११ अर्ब रुपैयाँले घटेको छ । कर्जा पनि बढेको छैन र निक्षेप पनि बैंकहरुबाट बाहिरीदाँ तरलता अभावको समस्या झनै जटिल बन्ने निश्चित छ ।

सामान्यतया नयाँ आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुले लगानीमा जोड दिनुपर्ने हो । तर, चालु आवमा बैंकहरुले कर्जा पनि बढाउन सकेका छैनन् । बैंकमा आएको निक्षेप समेत अडिन नसक्दा कर्जा लगानी योग्य रकमको समेत कमी देखिन्छ ।

बैंकहरुले विगतका वर्षहरुमा आक्रामक रुपमा लगानी विस्तार गर्दा गत आर्थिक वर्षको सुरुवातदेखि तरलता र कर्जा लगानी योग्य रकमको दबाबमा रहेको बैंकिङ प्रणाली चालु आवमा पनि सुधार हुने देखिँदैन । बैंकहरुले अधिक कर्जा लगानी गरेपछि सीमा नाघेको कर्जा निक्षेप अनुपातलाई ९० प्रतिशतमा कायम गर्नका लागि नै निक्षेप सदुपयोग हुने अवस्था छ । नयाँ कर्जाका लागि नयाँ निक्षेप ल्याउनु पर्ने अवस्था छ । नयाँ निक्षेप सहज आउने अवस्था छैन । त्यसले गर्दा पनि आगामी दिनमा बैंकहरुबाट कर्जा पाउने सम्भावना न्यून हुदै गएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा प्रबाहलाई नियन्त्रण गर्न खोजेको छ । त्यसले गर्दा पनि कर्जा लगानी गर्न बैंकहरुलाई झनै दबाब पर्ने निश्चित छ । भएको निक्षेप झिकिने तथा नियामकीय पालनाका लागि नै हिजोको भन्दा धेरै निक्षेप प्रयोग गर्नुपर्ने भएकाले कर्जा सहज हुने देखिदैन । त्यसका साथै ब्याजदरमा आएको उच्च बढोत्तरीले पनि बैंकहरुबाट कर्जा जाने अवस्था छैन ।

साउन महिनाको पहिलो साता ६४ अर्बले घटेको बैंकहरुको निक्षेप देस्रो सातामा थप २८ अर्बले घटेको छ । यो अवधिमा बैंकहरको कुल निक्षेप ४४ खर्ब ५० अर्ब रहेको छ । त्यसैगरी साउन लागेपछि बैंकहरुबाट ११ अर्ब रुपैयाँ कर्जा घटेको छ । यो अवधिमा बैंकहरुको कुल कर्जा ४१ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।