मेलम्चीका कारण २ बैंकहरुको फसेको डेढ अर्ब फिर्ता हुने

0
Shares


मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको एक अर्ब ६० करोड रुपैयाँ भन्दा धेरै रकम फिर्ता हुने भएको छ । चिनको हानन प्रदेशको हाइ कोर्टले केही दिन अघि बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेश सहितको फैसला गरेपछि उक्त रकम फिर्ता हुने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्यूरोका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत बैंक अफ काडमाण्डू र हिमालयन बैंकले फिर्ता पाउने भएका हुन । चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता गर्न चाइना कन्सट्रक्सन बैंकलाई आदेश दिएको हो ।

यो फैसलासंगै बैंकहरुले काउन्टर ग्यारेन्टी वापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको एक अर्ब ६० करोड रुपैयाँ फिर्ता पाउने भएका छन् । हाननको उच्च अदालतले दिएको फैसला अनुसार आगामी एक महिना भित्र बैंकहरुले उक्त रकम फिर्ता पाउने नेपाली बैंकहरुका तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिबक्ता प्रा. डा. गान्धी पण्डितले जनाकारी दिए ।

अदालतले दिएको फैसला अनुसार बैक अफ काडमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकन डलर अर्थात मंगलबारको विनिमयदर अनुसार ८३ करोड ४७ लाख ५१ हजार नेपाली रुपैयाँ र १४ लाख ११ हजार ४५३ युरो अर्थात १८ करोड २० लाख ७७ हजार ४३७ रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता पाउनेछ । त्यसैगरी हिमालयन बैंकले करिब ६७ लाख अमेरिकी डलर बरावरको करिब ८४ करोड नेपाली रुपैयाँ बैंक ग्यारेन्टी दिएको रकम फिर्ता पाउने पण्डितले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको चाइना रेलवे व्युरो १५ चाईना कन्स्ट्रक्सन बैंकबाट मेलम्ची खानेपानी आयोजनाको काउण्टर ग्यारेण्टी ल्याएको थियो ।

मेलम्चीले नेपाली बैंकबाट ग्यारेन्टी मागेपछि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेण्टीको लागि हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई आग्रह गर्यो । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चाईना कन्स्ट्रक्सन बैंकको विश्वासको आधारमा बैंक ग्यारेण्टी जारी गरेका थिए ।

बैंक ग्यारेन्टीको विषय मिलेपछि मेलम्ची र चाइना रेलवे व्यूरोका बिचमा खानेपानी आयोजना निर्माण गर्ने सम्झौता भयो । तर, चाइना व्यूरोले सम्झौता अनुसार खानेपानी आयोजनाको कामलाई अघि बढाउन सकेन । काम गर्न नसके पछि त्यो कन्ट्याक्टर नेपाल छाडेर भाग्यो । आयोजनाको २० प्रतिशत पनि काम पुरा नगरी चाइना व्यूरोले ८० प्रतिशतभन्दा धेरै काम बाँकी छोडेर भागेको थियो । समस्या आए पछि एशियाली विकास बैंकले नै छलफलमा बोलाएर सोधेको थियो ।

ठेकदार भागेर चिन गएपछि मुद्दा मामिला गरेपछि २ बैंकको रकम फसेको थियो । चिनमा ठेकदारले हालेको मुद्दा हारेका नेपाली बैंकहरुले पुुन अदालत पुगेका थिए । दोस्रोपटक चाइनीज अदालत पुगेका नेपाली बैंकहरुले मुद्दा जिते ।

बैंकहरुले जितेको मुद्दाका विरुद्ध फेरि अदालत गएको ठेकदार हानन प्रदेशको पिपुल हाइ कोर्टले पनि विगतको निर्णयलाई नै सदर गर्दै फैसला सुनाएको पण्डितले बताए । अब त्यो पैसा फिर्ता नआउनका लागि करिब असम्भव भएको बताउँदै पण्डितले भने,“ठेकदार सुप्रिम कोर्टमा गएर विशेष अर्डर लिएको खण्डमा रोकिन सक्छ ।” त्यस्तो अर्डर पाउने सम्भावना न्यून रहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।