कुमारी बैंकको झल्कियो प्रगति, अधिकांस सूचकमा सुधार

0
Shares

कुमारी बैंक (KBL) ले अधिकांस सूचकमा सुधारसहितको गत आर्थिक वर्ष ०७८/०७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको निक्षेप, कर्जा, ब्याज आम्दानी, संचालन नाफासँगै खुद नाफामा सुधार आएको छ । जगेडाकोषमा आकर्षक सुधार भएको छ भने वितरण योग्य नाफा समेत बढेको छ ।

बैंकको नाफा बढ्दा प्रतिसेयर आम्दानीमा सुधार आएको छ । खराब कर्जाको अनुपात एक प्रतिशत भन्दा तल नै राखेको छ ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशतले बढेको छ। बैंकको सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ३८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेर ३ अर्ब ९८ करोड संचालन मुनाफा गरेको छ।

बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । गतवर्ष बैंकले ६ प्रतिशत बोनस बाडेको थियो।

बैंकको निक्षेप २१.२१ प्रतिशत तथा कर्जा लगानी ११.२२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको जगेडाकोषमा २५.४१ प्रतिशतले बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । जसको अवितरित नाफा १ अर्ब ७७ करोड छ । जुन ४२.२४ प्रतिशतले बढेका हो।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ।

बैंकको निष्क्रिय कर्जा ०.९६ प्रतिशत छ। अघिल्लो वर्ष पनि ०.९६ प्रतिशत नै थियो। बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।