गरिमा विकास बैंक पनि अर्बपति क्लबमा उक्लियो, अधिकांश सूचकमा सुधार

0
Shares

गरिमा विकास बैंक (GBBL) पनि एक अर्ब बढी नाफा कमाउने बैंकमा उक्लिएको छ । गत आर्थिक वर्षमा अधिकांश सूचकमा सुधार गरेको बैंकले सो अवधिसम्ममा एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

बैंकले गत आव ०७८/०७९ मा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २६.३५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । साथै बैंकले जोखिम व्यवस्थापन बापतको खर्च पनि घटाएको छ । बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ छ । यस्तो नाफा पनि १५.३० प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। गत वर्ष २४.५९ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको जगेडाकोष समेत २२.०६ प्रतिशतले बढेको छ । चुक्ता पूँजी बढेको अनुपातमा नाफा बढाउँदा प्रतिसेयर आम्दानी सन्तुलनमा राखेको हो ।

त्यसैगरी, बैंकको निक्षेप ७.०५ प्रतिशत बढेको छ भने कर्जा १२.८४ प्रतिशत बढेको छ। बैंकले ६८ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ५८ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ६१ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ३१ प्रतिशत धेरै हो ।

बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा तथा प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ। बैंकको खराब कर्जा भने सामान्य बढेर ०.८५ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।