
नेपाल स्टक एक्सचेन्जमा नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहदा सेयर बजार भने सुस्ताउन थालेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांस वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा जलविद्युत कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाएको विवरण सार्वजनिक गरिरहदा सेयर बजारको रौनक भने हराउँदै गएको छ।
कम्पनीहरुले प्रस्तुत गरेको प्रगतिमा लगानीकर्ता सन्तुष्ट हुन नसक्दा सेयर बिक्रीमा चाप पर्दा बजार निरन्तर ओरालो लागेको छ ।
अर्कातर्फ चुनाबको घोषणा, तत्काल ब्याजदर नबढाउने बजारमैत्री खबरले पनि लगानीकर्तामा उत्साह जगाउन सकेन । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
बैंकर्स संघले तत्कालका लागि ब्याजदर नबढाउने भने पनि अर्को महिनाबाट ब्याजदर बढ्ने भयले पनि बिक्रीकर्ताको चाप बढेको देखिन्छ । साथै पछिल्लो समयमा छोटो अवधिमा बढेको बजारमा नाफा बुक गर्नेहरुको सक्रियताले भने बजारको ओरालो यात्रालाई सघाएको छ ।
पछिल्ला दुई दिनमा मात्र नेप्से सूचक झण्डै ७५ अंकले घटेको छ । शुक्रबार नेप्से सूचक ३४।६१ अंकले घटेर २११३.५५ विन्दुमा झरेको छ । दुई घण्टा खुलेको बजारमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
शुक्रबार कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३।४० प्रतिशतले घटेको छ। म्युचुअल फन्डहरुले लाभांश घोषणा गर्न सुरु गरेकाले पनि म्युचुअल फण्डमा केहि आकर्षण देखिएको छ ।
जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले बढेको बजारमा मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार हुने शिवम सिमेन्टको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया