शुभश्री अग्नि सिमेन्ट उद्योगको कारोबार २८ प्रतिशतले बढ्यो

0
Shares

सिमेन्ट तथा क्लिंकर उत्पादक उद्योग शुभश्री अग्नि सिमेन्टको कारोबार २८ प्रतिशतले बढेको छ । कम्पनीले गएको वर्ष साढे दुई अर्ब बराबरको कारोबार गरेको छ।

उद्योगले सन २०२१ मा २ अर्ब ४६ करोड बराबर कुल आम्दानी गरेको छ । उद्योगको कुल आम्दानी सन् २०२० को तुलनामा सन् २०२१ मा २८ प्रतिशतले धेरै हो । सन् २०२० मा उद्योगको आम्दानी १ अर्ब ९३ करोड थियो । त्यस्तै उद्योगले सन २०१९ मा २ अर्ब ३२ करोडको कारोबार गरेको थियो ।

उद्योगको चालु दायित्व र स्थीर सम्पतिको अनुपात सन् २०२० मा ३.७१ रहेकोमा सन् २०२१ मा ३.६० रहेको छ । उद्योगले दीर्घकालीन र अल्पकालीन ऋणको लागि क्रेडिट रेटिङ कम्पनी– केयर रेटिङ कम्पनीबाट क्रमश डबल बी प्लस र ए४ प्लस रेटिङ पाएको छ ।

उद्योगले ४ अर्ब ७१ करोड ८६ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन (फन्डीङ तथा गैर–फन्डीङ ऋण) को लागि केयरले रेटिङ पुनःपुष्टि गरेको छ।  

उद्योगले २ अर्ब ५ करोड ८६ लाख दीर्घकालीन ऋण प्राप्तिका लागि डबल बी प्लस रेटिङ तथा अल्पकालीन फन्डिङ आधारित १ अर्ब ९५ करोड ऋणको लागि ए४ प्लस रेटिङ पाएको छ । यसैगरी अल्पकालीन गैर फन्डिङ आधारित ७१ करोड ऋणको लागि ए४ प्लस रेटिङ पाएको छ ।

रेटिङ गर्ने क्रममा कम्पनीको लेभरेज पुँजी संरचना, ऋण भुक्तानी सूचांक मापन, आम्दानीमा भएको वृद्धि, गिरावट,उद्योग सञ्चालन विधि इत्यादिलाई ध्यानमा राखिएको छ । यसका साथै बाह्य प्रभावका कारण कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, ब्याजदर बढ्दा उत्पन्न जोखिमहरुलाई पनि ध्यानमा राखिएको केयर रेटिङ नेपालले जनाएको छ ।

सन् २०१३ मा स्थापना भएको शुभश्री अग्नि सिमेन्ट उद्योगले सन् २०१७ को डिसेम्बर महिनाबाट क्लिंकर उत्पादन गर्दै आएको छ । उद्योगले सन् २०१९ देखि १२०० मेट्रिक टन उत्पादन गर्न सक्ने क्षमता भएको ग्राइडिङ युनिट संचालन गरिरहेको छ । जसले लाइमस्टोनलाई ग्राइन्ड गरी क्लिंकर र सिमेन्ट उत्पादन गर्छ।

शुभश्री अग्नि सिमेन्ट प्रालिले ‘प्युठान ब्रान्ड’मा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको दैनिक सिमेन्ट उत्पादन क्षमता १२ सय टन तथा क्लिंकर उत्पादन क्षमता दैनिक नौ सय टन छ। उद्योगल् जर्मनीको उच्च प्रविधि प्रयोग गरेर ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरेको छ।

सिमेन्टको प्लान्ट अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ मा छ। अग्नि सिमेन्ट उत्पादन गरिरहेको समूहको नेतृत्वमा प्युठान सिमेन्ट उद्योग स्थापना गरिएको हो। शुभश्रीले सिमेन्टका लागि आफ्नै क्लिंकर प्लान्ट पनि सञ्चालन गरेको छ।

स्थानीय रुपमा उपलब्ध खनिज पदार्थ तथा आयातीत कच्चा पदार्थको प्रयोग गरी शुभश्रीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । यस उद्योगलाई अग्नि सिमेन्ट उद्योगले प्रवद्र्धन गर्दै आएको छ । कृष्ण प्रसाद पोखरेल, डा.तारा प्रसाद पोखरेल लगायतका व्यक्तिहरु उद्योगको सञ्चालक रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।