पछिल्लो चरणमा सार्वजनिक निष्कासनको क्रम बढेपछि प्राथमिक बजारमा लगानीगर्नेहरुको संख्या समेत बढ्न थालेको छ । यसै क्रममा डिम्याट खाता खोल्नेहरुको संख्या ५३ लाख नाघेको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को तथ्याङ्क अनुसार २०७९ साउन २२ गते मसान्तसम्ममा डिम्याट खाता संख्या ५३ लाख ९३१ पुगेको हो । डिम्याट खाता खुल्नुले धितोपत्र बजारको प्राथमिक बजारमा नयाँ लगानीकर्ताको संख्या ह्वात्तै बढेको पुष्टि गर्दछ । सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने गरेको छ । 
डिम्याट खाता नेपाल धितोपत्र बोर्डले अनुमति दिएका विभिन्न बैंक, बैंकका सहायक कम्पनीहरु (मर्चेन्ट बैंकर), तथा ब्रोकर कम्पनीहरु मार्फत खोल्न सकिन्छ । डिम्याट खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनेर चिनिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।
यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो सहित स्वयम व्यक्ति नै उपस्थित हुनुपर्छ । धेरैजसो निक्षेप सदस्यकहाँ यस्तो खाता खोलेवापत कुनै शुल्क तिर्नुपर्दैन तर वार्षिक सेवाशुल्क भने १०० रुपैयाँ तिर्नुपर्छ । केही निक्षेप सदस्यले भने निक्षेप खाता खोले वापत नै १०० रुपैयाँसम्म शुल्क लिने पनि गरेका छन् ।
डिम्याट खाता खोलेपछि निक्षेप सदस्यहरुले १६ अंकको डिम्याट खाता नम्बर प्रदान गर्ने गर्दछन् । सो नम्बर पाएपछि मात्रै लगानीकर्ताले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से) बाट खरिद बिक्री गर्न सक्नेछन् ।
डिम्याट खाताको संख्या ५३ लाख नाघेको भएपनि कतिपयले दुई वा सो भन्दा खाता खोलेको पनि हुनसक्ने सम्भावना छ । सुरुवाताको समयमा दुईभन्दा बढी खाता खुोल्नसक्ने प्रावधान रहेपनि पछिल्लो समय दुईभन्दा बढी डिम्याट खाता खोल्न पाइँदैन । सिडीएससीका अनुसार दुईभन्दा बढी खाता खोलेमा रद्द हुन्छ ।
धेरैले प्राथमिक बजारमा आईपीओ सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । हाल सेयर बजारमा प्राथमिक बजारबाट हुने फाइदा र प्रविधिको सहजताका कारण पछिल्लो वर्षहरुमा डिम्याट खाता खोल्नेको संख्या झनै बढेको छ । डिम्याट खाता नभएकाले प्राथामिक बजारमा आईपीओ भर्न तथा दोस्रो बजारमा समेत सेयर खरीद बिक्री गर्न पाउँदैनन् ।
डिम्याट खाता खोलिसकेपछि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् । मोबाइल वा ल्यापटपबाट लगइन गरेर आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति कित्ता सेयर छ हेर्न सकिन्छ । प्राथमिक सेयर (आइपीओ) भरेपछि डिम्याट खातामै जम्मा भने दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया