सेयर बजारमा दोहोरो अंकको गिरावट, बजार पूँजीकरण ३० खर्ब ८ अर्ब


सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार खुलेदेखि सुस्त गतिमा उकालो लाग्न थाले पनि मध्यान्ह पछि क्रमशः ओरालो लागेको थियो । यस क्रममा बजार परिसुचक नेप्से १७.६७ अंकले घटेर २१०६.१६ अंकमा अडिएको हो ।

आइतबार परिसुचक १०.२७ अंकले बढेर २१२३.८२ अंकमा उक्लिएको थियो ।

२१४ कम्पनीका ६५ लाख २७ हजार ४१६ कित्ता सेयरहरु ४४ हजार ५५३ पटक किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेको बजारमा कारोबारयोग्य सेयरहरुको सूचक फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट १.१४ अंकले घटेको छ ।

गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा धेरै बढ्दा समता घरेलु लघुवित्तको ४ प्रतिशतले बढेको छ ।

जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै अर्थात ४.३१ प्रतिशतले घटेको बजारमा सिजर्नी पावर, एशियन लाइफ लगायत कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।  कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेकोमा कारोबारमा आएको सेयर संख्याका आधारमा नेशनल हाइड्रो शीर्षस्थानमा छ ।

उत्पादन र सामुहिक लगानी कोष उपसमुह मात्र बढेको बजारमा अरु उपसमुहमा गिरावट आएको छ । बजार गिरावट आउँदै गर्दा समग्र बजार पूँजीकरण ३० खर्ब ८ अर्ब ७ करोड ९६ लाख रुपैंया कायम भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।