फिर्ता नहुने गरी दैनिक १५ लाख रुपैयाँ स्वेदश पठाउन सकिने


विदेशमा रहेका नेपाली वा विदेशी नागरिक वा कम्पनीले नेपालमा दैनिक १५ लाख रुपैयाँ रेमिट्यान्स पठाउन सक्ने भएका छन् । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै फिर्ता नहुने गरी सेवा शुल्क, कमिसन तथा पारिश्रमीक रकम विप्रेषण कम्पनी पठाउन सक्ने व्यवस्था गरेकाे हाे । 

यसभन्दा अघि केन्द्रीय बैंक यस्तो शीर्षकको सीमा १० लाख रुपैयाँ दैनिक कायम गरेको थियो । सो १० लाखको सीमालाई बढाएर केन्द्रीय बैंकले सोमबारदेखि १५ लाख पुर्‍याएको हो । यसरी कारोबार गर्दा सम्बन्धित बेनिफिसियरीको खातामा जम्मा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । 


नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म कम्पनी संस्था शाखा कार्यालयले बिक्री कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनलाई फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम विप्रेषण कम्पनी मार्फत सम्बन्धित बेनिफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख सम्म को विप्रेषण रकम ल्याउन सकिन्छ । यस्तो रकमको संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ । 

बैंक वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । 

आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रणमा सघाउ पुग्ने गरी बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई लागू गर्नुपर्ने छ । त्यसका साथै बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफोरमा इन्भ्वाइस डकुमेन्टमा उल्लिखित मूल्यबीच तुलनात्मक विश्‍लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा उपलब्ध गराउनुपर्नेछ वा डकुमेन्ट ह्याण्डलिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका वाणिज्य बैंकलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको वक्यौता साँवा तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न सीमा लागू नहुने व्यवस्था गरेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।