गत आर्थिक वर्षको उपभोक्ता मुद्रास्फीति ८ प्रतिशत 


आर्थिक वर्ष २०७८र०७९ को उपभेक्ता मुद्रास्फीति ८ प्रतिशत भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको हो । 

गत आर्थिक वर्षको वार्षिक मुद्रास्फीति ६.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य लिइएको भएपनि सो भन्दा माथि पुगेको हो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप परेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति गत आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको थियो । 

२०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.०३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २.९४ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।