डिस्को तथा लाउन्ज बारमा नक्कली मदिरा बिक्री गर्ने पाँच जना पक्राउ

0
Shares

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजना पक्राउ परेका छन् ।

प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

उनीहरूले डबल ब्लाक, ब्लाक लेभल, ज्याक डेनियल्सलगायत महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका थिए । उनीहरुले भक्तपुर दुवाकोटमा फ्याक्ट्री राखी नक्कली मदिरा उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ ।

कोटेश्वरस्थित उनीहरुको डेरा र भक्तपुरस्थित फ्याक्ट्रीबाट ठूलो मात्रामा नक्कली मदिरा बरामद भएको छ । यस्तो मदिरा उनीहरुले डिस्को तथा लाउन्ज बारमा बिक्रि गर्दै आएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

मदिराका बोतलमा आन्तरिक राजश्व विभागको नक्कली अन्तशुल्क स्टिकरसमेत प्रयोग गर्दै आएका पाइएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी मुद्दामा सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।