सरकारले ६ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै, आज बोलकबोल

0
Shares

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ९१ दिने तथा ३६४ दिने ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ । सरकारले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको अल्पकालिन ऋणपत्रलाई नवीकरण गर्न लागेको हो ।

वि.सं २०७९ मंसिर २० गते र २०८० भदौ १९ गते भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद बोलकबोल गर्न लागेको हो । सोमबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बिक्री भने भदौ २१ गते मंगलबार मात्रै हुनेछ ।

सरकारले भदौ २० गते ६ अर्ब २६ करोड रुपैयाँमध्ये ४ अर्ब २६ करोड रुपैयाँको ९१ दिने र २ अर्ब रुपैयाँको ३६४ दिने पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो ।

बैंकहरुले चालु आर्थिक वर्षयता तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट एकैदिन साढे ६४ अर्बसम्म स्थायी तलता सुविधा अन्तरगतको सापट प्रयोग गरेका छन् । आइतबार मात्र बैंक वित्तीय संस्थाले ५० अर्ब ४० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा सापट लिएका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २९ वटा कारोबारबाट सो रकम सापट लिएका हुन् ।

बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि नै नेपाल राष्ट्र बैंकबाट सापट लिइरहेको अवस्थामा सरकारले पुरानो ट्रेजरी बिल्सको भुक्तानी नदिइ नवीकरण गर्दा बैंकिङ प्रणालीमा आउन सक्ने पैसा रोकिने भएको हो ।

सरकारले यसभन्दा अघि भदौ १३ गते ३ अर्ब १३ करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । उक्त ट्रजरी बिल्सकोे औसत डिस्काउन्ट रेट ९.०९०४ कायम भएको थियो । जसमा अधिकतम ९.३००१ तथा न्यूनतम ८.८९३४ कायम भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।