अभियान लघुवित्तको आईपीओ डिम्याट खातामा, कतिमा खुल्छ कारोबार ?

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ ।

साउन ३० गते सोमबार गोलाप्रथाबाट बाँडफाँड भएको उक्त आईपीओ भदौ २१ गते मंगलबार सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि सिडिएससीले कम्पनीको धितोपत्र एभिवाईएएन (AVYAN) कारोबार संकेतमा जम्मा गरेको छ ।

यसअनुसार अब कम्पनीको धितोपत्र यहि कारोबार संकेतमा दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । यद्यपी कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । दोस्रो बजारमा कारोबारयोग्य हुन सम्बन्धीत कम्पनीले नेपाल स्टक एससचेञ्ज (नेप्से) सँग सूचीकरण सम्झौता गर्नुपर्ने हुन्छ । नेप्सेमा सेयर सूचीकरण सम्झौता भएपछि त्यसको दोस्रो कारोबार दिनदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

कतिमा खुल्छ पहिलो कारोबार ?

अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७७/७८ को वास्तविक प्रति सेयर नेटवर्थ १०५.३६ रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

यसआधारमा कम्पनीले नेटवर्थ बराबरको न्यूनतम र नेटवर्थको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज पाउने भएकाले सो लघुवित्तको सेयर उक्त रेञ्ज (१०५.३६ देखि ३१६.०८ रुपैयाँ) मा खुला हुनेछ ।

लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो । कुल १९ लाख ८० हजार ९७० जना आवेदकहरूमध्येबाट गोलाप्रथाद्वारा ९१ हजार ३७५ जनाले मात्र गोलाप्रथाबाट लघुवित्तको सेयर १०।१० कित्ताका दरले पाएका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा लिमिटेडले ३७.४२ प्रतिशतले खुद नाफा बढाउँदै १ करोड १० लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ७.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.५६ रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १ करोड ९१ लाख ४६ हजार रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।