युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारण राखेका हुन् । रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः शुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक भएको अल जजीराले उल्लेख गरेको छ।
यसै बीच युरोपेली संघका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दै छन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ ।
यसैबीच, चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन्। फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजीराले जनाएको छ ।
युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैनः भारत
युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ ।
सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए । “भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी राख्नेछ ।
“युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन,” उनले बुधबार सुरक्षा परिषद्को बैठकमा भने । उनले भने, “द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र ईन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामथ्र्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक छ ।”
रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमन लगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ । भारतले हालै युक्रेनलाई मानवीय सहायताको बाह्रौं खेप पठाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया