भिसा बापत संकलन रकमको सटही सुविधा थप

0
Shares

नेपाल राष्ट्र बैंकले भिसा बापत संकलन भएको नेपाली रुपैयाँको विदेशी मुद्रा सटही सुविधा थप खुकुलो बनाएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै भिसा बापतको शुल्क परिवर्त्य विदेशी मुद्राको विद्युतीय कार्डबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले ई-भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले नेपाल स्थित अन्य संस्थालाई तोकेका शर्तहरु पालना हुने गरी संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय/डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

बैंकले भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको खातामा जम्मा हुने व्यवस्था गरेको हो ।

तोकिएको परिवर्त्य विदेशी मुद्रा सम्बन्धित देशको नेपाल स्थित दूतावासको तोकिएको खातामा मात्र जम्मा हुनु पर्छ । त्यसका साथै भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपाल स्थित दूतावास/नियोगको पत्र समेत आवश्यक पर्नेछ ।

यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्नेछ । कार्डको म्याद ई-भिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्न केन्द्रीय बैंकले बैंकहरुलाइ निर्देशन दिएको छ । कार्डबाट एकै पटक वा पटक–पटक गरी भुक्तानी हुन सक्नेछ ।

कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैयाँ खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिक रुपमा हिसाब मिलान गर्नु पर्छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई-भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसा सम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

 ई-भिसा प्रणाली अन्तर्गत भिसा आवेदक नेपालीले इभिसा प्रणालीमा तोकिए बमोजिम शुल्क भुक्तानी परिवर्त्य विदेशी मुद्राको विद्युतीय कार्डबाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन पर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।