तरलता अभाव टार्न ४० अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउँदै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखा परेको तरलता अभावलाई न्यूनिकरण गर्न नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गरेर ४० अर्ब रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो।

केन्द्रीय बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार बैंकले असोज ६ गते बिहीबार सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत ४० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ः१५ बजेभित्र अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । ट्रेजरी बिल्सको खरिद मिति असोज ७ गते शुक्रबार तोकिएको छ । बैंक वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल बिक्री गर्न पाउनेछन ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ । यस्तै बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । (उदाहरणका लागि १०० रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ) ।

यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर, एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर यिल्डरेट गणना गरी सबभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमश बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँड गरिने जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।