
नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा एमओसिओ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डायनामिक नेपाल पे क्यूआर राखिएकाले ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आईपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।
नेपाल पे क्यूआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक मार्फत हालसम्म स्ट्याटिक क्यूआर, डायनामिक क्यूआर, क्यूआर गेटवे र क्यूआर पिओएस मार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपाल पे क्यूआर थप गरिएको छ, जस अन्तरगत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्ट आइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी समेत गर्न सकिने भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया