क्रिष्टल फाइनान्समा तीन करोड कर्जा अपचलन गर्ने दोषी जेल चलान


बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ ।

अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ साल मङ्सिर २१ को फैसलाले सञ्जयलाई तीन वर्ष कैद र एक करोड ९५ लाख २६ हजार रुपैयाँ जरिवाना तथा लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद तोकेको थियो ।

विसं २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफूखुशीरुपमा जग्गाको अस्वाभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको हो ।

सिआइबीको टोलीले उक्त सजाय बेरुजु रही फरार रहेका सञ्जयलाई कात्तिक १७ गते काठमाडौँको गौशालाबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी आज जिल्ला अदालत पर्सामा बुझाएको थियो । उनीहरुलाई आजै अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको पाण्डेले जानकारी दिए ।