
नेपाल खुद्रा व्यापार संघका अध्यक्षमा पवित्रमान बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न ४३ औं वार्षिक साधारण सभाले बज्राचार्यको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । बज्राचार्यले यसअघि पनि संघमा एक कार्यकाल अध्यक्षको कार्यभार सम्हालिसकेका छन् ।
संघको उपाध्यक्षमा नरेशबाबु शाही निर्विरोध निर्वाचित भए भने महासचिवमा अमुलकाजी तुलाधर, सचिवमा राजु मास्के चयन भए । यसैगरी ४३ औं वार्षिक साधारण सभाले कोषाध्यक्षमा बसन्त श्रेष्ठ, सह-कोषध्यक्षमा ध्रुव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा शिव डंगोल, सुरज होना, दिनेश तुलाधर र विरेन्द्र सिंह निर्विरोध निर्वाचित भएका छन् ।
संघका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक देवेन्द्र भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ समेत गराएका छन् ।
नवनिर्वाचित अध्यक्ष बज्राचार्यले कोभिड महामारीका कारण धेरै सदस्यहरुले व्यवसायबाटै बाहिरिनुपरेको तितो यथार्थ प्रस्तुत गर्दै नयाँ कार्यसमितिले फेरि पहिले झैँ उपभोक्ता हित र प्रत्येक भेग-भेगमा बैठक बसेर मेहनतका साथ समस्या समाधानको काम गर्ने बताए । नयाँ कार्यसमितिले भावी पुस्तालाई समेत व्यापारमा ल्याउन तथा सरकारले गर्ने निर्णयहरुमा के कसरी जाँदा सहज हुन्छ सोही अनुसार अगाडि बढने उनले बताए ।
उनले भने, ‘ देशभरका खुद्रा किराना पसलले उपभोक्ता हितलाई ध्यानमा राखेर व्यवसाय गर्दै आएपनि सरकारले भने अपराध नै गरेजस्तो गरेर विभिन्न किसिमको झन्झटिलो नियम–कानुन लागू गरेर दुःख दिने गरेको छ । खुद्रा व्यवसायसँग आश्रित परिवार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना हुन गइरहेको छ ।’
खुद्रा किराना पसलले ठूला व्यापारीहरुसँग प्रतिस्पर्धा गर्नुपरेको तथा व्यापार व्यवसाय सबै विदेशीको हातमा जान लागिको औंल्याउँदै उनले सरकारले गम्भीरतापूर्वक लिएर सहज ढंगले कारोबार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले साना खुद्रा व्यवसायीका लागि सरकारले लागू गरेको विभिन्न नयाँ नियमले स्वरोजगारमूलक खुद्रा व्यापारमा नकारात्मक असर परेको बताए ।
यसअघिका २०७५ सालमा नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा निर्वाचित संघका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठको २०७८ असारमा कोभिड संक्रमणका कारण निधन भएपछि संघमा अध्यक्ष पद भने रिक्त थियो ।
संघको ४३ औं साधारण सभा तथा मिलन समारोहमा संघका सदस्यका सन्तानमध्ये एसइई परीक्षामा उत्कृष्ट नजिता ल्याउने सक्षम श्रेष्ठ र रश्मिता थापालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया