चाडपर्वले रेमिट्यान्स बढ्दा दुई सातामै थपियो ६७ अर्ब निक्षेप

0
Shares

पछिल्ला दुई सातामा वाणिज्य बैंकहरुमा झण्डै ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु नजिकँदै गर्दा विदेशमा रहेका नेपालीहरुले पैसा पठाउने क्रम बढेपछि बैंकहरुको निक्षेपमा सुधार आएको हो ।

गत साता वाणिज्य बैंकहरुमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ । त्यो भन्दा अधिल्लो साता ४० अर्ब ५४ करोड निक्षेप थपिएको थियो । भदौको अन्तिम साता र असोजको पहिलो सातामा गरेर वाणिज्य बैंकहरुमा ६७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ६ अर्ब २० करोड मात्र कर्जा विस्तार गरेका छन ।

चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला भदौ महिना सुरु भएयता निक्षेपमा निरन्तर सुधार आएको छ । बैंकहरुमा स्रोतको कमी हुँदा कर्जा परिचालनले गति लिन नसकेको हो ।

दशैं तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स आप्रवाहमा सुधार आउँदै गर्दा भदौको अन्तिम साता र असोजको पहिलो सातामा भने बैंकहरुको निक्षेप उच्चदरले बढेको छ । यो अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको र सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार भएको बैंकरहरु बताउँछन् ।

गत भदौ महिनाभरमा वाणिज्य बैंकहरुमा ५९ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थपिएको छ । असोज महिनाको पहिलो सातामा २६ अर्ब १४ करोड निक्षेप थपिएको हो । संघका अनुसार असोज ७ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४५ अर्ब १२ करोड रुपैयाँ निक्षेप पुगेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब ९४ करोड कर्जा लगानी गरेका छन । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी ४ अर्बले मात्र बढेको छ ।

तरलता अभावको समस्या अझै समाधान नभएकाले प्रायस् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । नयाँ कर्जा प्रवाह (अपवाद बाहेक) रोकिएको छ भने नयाँ कर्जाका लागि पनि ब्याजदर आकासिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५१ खर्ब ०६ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।