इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

0
Shares

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओका रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाए । सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन।

उनीसंग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए ।

इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सिइओ खड्काले भने ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।

डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ’ ।

इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल हुनुभएका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ । उनी सिइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन । सिइओबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।