नुवाकोटमा ६ पदका लागि ६६ जनाको मनोनयन

0
Shares

आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधि सभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको ६ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधि सभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले) का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रदेश–१ तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराइले जानकारी दिए ।

उनका अनुसार सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेश सभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ । नेकपा (एमाले) ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएको छ ।

नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ भने नेकपा (एमाले) ले नारायणप्रसाद खतिवडालाई उठाएको छ ।

तीन पदका लागि रसुवामा २९ मनोनयन दर्ता

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उमेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणानुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेश सभाका लागि नौ–नौ जना उमेदवारले आ–आफ्नो मनोनयनपत्र दाखिला गरेका हुन् ।

प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख) मा एक–एक स्वतन्त्रसहित आठ–आठवटा राजनीतिक दलका प्रतिनिधिले मनोनयनपत्र दर्ता गरेका हुन् ।

प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा (एमाले) को तर्फबाट छोवाङ तेन्जिङ तामाङले प्रतिनिधि सभा सदस्य पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको सदस्य पदमा लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि जन समाजवादी पार्टी नेपालले महिला उमेदवार तय गरेको बताइन्छ ।

जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटा लगायत राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी) को तर्फबाट शारदाकुमार न्यौपाने लगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।