मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष अझै कष्टकर रहने आइएमएफको प्रक्षेपण

0
Shares

विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागु गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी विकसीत अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव विकासोन्मुख अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।

विविध चुनौतीका बीच सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धि दर ३.२ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ । मुद्रास्फीति नियन्त्रणमा नआउनु, रुस–युक्रेन युद्धले भयावह रुप लिँदै जानु र चीनमा कोभिड–१९ संक्रमण फैलिरहँदा चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण सन् २०२३ अझै कष्टकर रहने आइएमएफको अनुमान छ ।

सन् २०२२ को अक्टोबर महिनाको वल्र्ड इकोनोमिक आउटलेट प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२३ मा आर्थिक वृद्धि दर अझै घटेर २.७ प्रतिशत रहने अनुमान गरेको छ । मुदास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदा डलर हाल सम्मकै उच्च हुन पुगेको छ भने अरु देशका मुद्राहरु कमजोर हुन पुगेका छन् । कमजोर मुद्राका कारण विकासोन्मुख राष्ट्रहरु समस्यामा परेका छन् ।

यसैगरी युद्ध सुरु भएलगत्तै रुसले युरोप र बेलायतमा इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति रोकिदिँदा मूल्यवृद्धि आकाशिएको छ भने केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने सम्भावना शतप्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ को तुलनामा जनमानसको जीवनयापन सन् २०२३ मा अझै कष्टकर बन्ने अनुमान आइएमएफको छ ।

मुद्रास्फीति नियन्त्रणमा आउनु अघि सन् २०२३ मा अझ बढ्ने र अन्ततः सन् २०२४ सम्ममा मुद्रास्फीति दर ४.१ प्रतिशत हुने अनुमान आइएमएफले गरेको छ।
सन् २०२२ मा विकसीेत अर्थतन्त्रहरुको आर्थिक वृद्धि दर २.४ प्रतिशत रहने र सन् २०२३ मा खुम्चिएर १.१ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ ।

यसैगरी अमेरिकाको आर्थिक वृद्धि दर सन् २०२२ मा १.६ प्रतिशत र सन् २०२३ मा १ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । यसैगरी विकासोन्मुख राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ३.७ प्रतिशत र सन् २०२३ मा पनि वृद्धि दर ३.७ प्रतिशत नै कायम रहने आइएमएफको प्रक्षेपण छ ।

विकासोन्मुख एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ४.४ प्रतिशत र सन् २०२३ मा ४.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । यसैगरी भारतको आर्थिक वृद्धि दर सन् २०२२ मा ६.८ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।