नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० वटा उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा झन्डै २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेशिन भने अझै सञ्चालनमा आएको छैन ।
सामान जाँच गर्न एक्स–रे मेशिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए ।
उनले मेशिन खरिद गरेर आइसकेको भए पनि प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारण रहेको बताए। उनले भने, ‘मेशिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेशिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । त्यो सेड निर्माण गरेपछि मेशिन जडान गरेर सुरु गर्छौँ ।’ उनका अनुसार अझै तिहारभन्दा अघि मेशिन सञ्चालनमा आउने सम्भावना छैन ।
मेशिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुका सानातिना सामान जाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एक वटा एक्स–रे मेशिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान जाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरूले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेशिन अत्यावश्यक रहेको छ ।
कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म, फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महत्त्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेशिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेशिन अहिले खुला आकाशमा राखिएको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया