दशैंपछि बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप बाहिरियो, कर्जा समेत घट्यो

0
Shares

दशैं सकिएसंगै बैंकिङ प्रणालीको निक्षेपमा अस्वभाविक गिरावट आउन थालेको छ । बैंक तथा वित्तीय संस्थामा चाडबाडको समय सुरु भएसंगै थपिएको निक्षेप दशैंपछि घट्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार दशैं सकिए लगत्तै अर्थात मंगलबार मात्र बैंक वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सोही दिन बैंक वित्तीय संस्थाको कर्जा समेत २ अर्बले घटेको छ ।

दशैं अघिसम्म बैंक वित्तीय संस्थामा निक्षेप थपिएको थियो । दशैंको सुरुवाती देखि घट्न थालेको निक्षेप दशैंपछि पनि निरन्तर घटेको हो । त्यसो त दशैं विदाको अवधिमा वाणिज्य बैंकहरुबाट मात्रै करिब ८ अर्ब निक्षेप झिकिएको छ । यो अवधिमै बैंकहरुको कर्जा पनि ४ अर्बले घटेको छ।

बैंकहरुमा स्रोतको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्ने दौडमा बैंकहरु थिए । बैंकहरुले ब्याजदर बढाए पनि दसैको सुरुवात देखि निक्षेपमा कमी आउने भन्दा पनि भएको समेत झिकिने समस्या देखिएको थियो । त्यो क्रम दशैं सकिएपछि झनै बढ्न थालेको छ ।

सोमबार बैंक वित्तीय संस्थासँग कुल ५१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । मंगलबार त्यो निक्षेप घटेर ५० खर्ब ८७ अर्बमा झरेको छ । सो दिन वाणिज्य बैंकहरुबाट मात्रै ३१ अर्ब रुपैयाँ निक्षेप झिकिएको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सोमबार ४७ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा मंगलबार घटेर ४७ खर्ब २३ अर्बमा झरेको छ ।

बैंकहरुबाट उच्च दरमा निक्षेप बाहिरिएपछि कर्जा निक्षेप अनुपातमा समेत दबाब परेको छ । गत सोमबार बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८७.२० प्रतिशत रहेकोमा मंगलबार बढेर ८७.८१ कायम भएको छ ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप वढाउन ब्याजदरमा गरेको भद्र सहमती समेत तोडेर ब्याजदर बढाएका छन् । त्यति हुँदा पनि नयाँ निक्षेप नआउने र कर्जाको माग समेत नभएको अवस्था छ । कर्जाको माग नभएको कारणले गर्दा आगामी दिनमा ब्याजदर घट्ने अनुमान बैंकहरुले गरेको भएपनि निक्षेपमा आएको गिरावटले ब्याजदर तत्काल घट्ने सम्भावना देखिँदैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।