मर्जरका कारण नाघेको सीडी रेसियो सीमामा ल्याउने समय २ वर्ष, सेयर सम्बन्धि निर्णय धितोपत्र बोर्डबाट

0
Shares

बैंक तथा वित्तीय संस्थाले तोकिए भन्दा माथि रहेको कर्जा निक्षेप(सीडी) अनुपात सीमामा ल्याउने समय २ वर्ष कायम भएको छ । गाभ्ने/गाभिने वा प्राप्तिका कारण सीडी अनुपात तोकिए भन्दा माथि भए २ वर्षभित्रमा सीमामा ल्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्नका लागि दिइएको सुविधामा गाभ्ने/गाभिने वा प्राप्तिपछिको एकीकृत कारोबार सुरु गर्दा सीडी रेसियो ९० प्रतिशत भन्दा माथि भए सीमामा ल्याउनका लागि एक वर्षको समय दिएको छ ।

तर, मर्जरका कारण सीमा भन्दा माथि रहेको खण्डमा एकिकृत कारोबार गरेको २ वर्ष भित्र ९० प्रतिशतमा ल्याउनु पर्छ । नेपाल राष्ट्र बैंकले मर्जर विनियमावली २०७३ को पाँचौ संशोधन गरेर कर्जा निक्षेपको सीमा कायम गर्ने अवधि थपेको हो।

यो व्यवस्था मर्जरमा नै नगएका स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसविआइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको हकमा भने लागु हुने देखिदैन । तर, अन्य बैंकहरुले भने सीडी अनुपातको सीमा नाघेको खण्डमा गाभ्ने गाभिने वा प्राप्तिलाई देखाई २ वर्षको अवधि लिन सक्ने देखिन्छ। तर, विनियमावलीमा उल्लेख भए अनुसार मर्जरका कारणले सीडी अनुपात सीमा भन्दा धेरै भए मात्र २ वर्षको अवधिमा पाइने हो । यस सन्दर्भमा भने राष्ट्र बैंक चनाखो हुनुपर्ने देखिन्छ।

त्यसैगरी केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा गएका बैंक वित्तीय संस्थाको सेयर कारोबार सम्बन्धि निर्णय गर्ने अधिकार ,धितोपत्र बोर्डलाई दिएको छ । विनियमावली अनुसार गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ ।

केन्द्रीय बैंकले सेयर सम्बन्धिको अधिकार धितोपत्र बोर्डलाई हस्तान्तरण गरेसंगै मर्जर विनियमावलीमा भएका नेपाल धितोपत्र विनिमय बजारबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्ने व्यवस्थालाई हटाएको छ।

त्यसैगरी गाभ्ने गाभिने वा प्राप्ति सम्पन्न भएपछि सेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने र सम्बन्धित संस्थाहरु सहमत भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्तिको अन्तिम स्वीकृतिको निवेदन पेश गरेपछि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्थालाई विनियमावलीको पाँचौ संशोधनबाट हटाइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।