धितोपत्र ब्रोकरका लागि ४५ कम्पनीको आवेदन, पाउलान् त लाइसेन्स ?

0
Shares

स्टक ब्रोकर व्यवसायका लागि ४५ कम्पनी इच्छुक देखिएका छन् । ती कम्पनीहरुले धितोपत्र व्यवसाय सञ्चालन अनुमतिका लागि आवेदन दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)बाट सिफारीस लिएका हुन।

हालसम्म धितोपत्र व्यवसाय सञ्चालन गर्न भन्दै ४५ कम्पनीले सिफारीस पत्र लिएको नेप्सेका वरिष्ठ अधिकृत मिलन मगरले जानकारी दिए । “हालसम्म सिफारीस लैजाने कम्पनीको संख्या ४५ पुगेको छ, उनले भने,“कार्यालय समय अझै बाँकी रहेको हुनाले एक दुइ वटा अझै थपिन सक्छ।”

नेप्सेले धितोपत्र व्यवसाय सञ्चालनका लागि तोकिएको मापदण्ड पुरा गरेर कम्पनीलाई लिखित रुपमा सिफारीस दिदै आएको छ । नेप्सेको सिफारीसका लागि आएका आवेदन मध्ये कुनै पनि कम्पनी मापदण्ड नपुगेका कारण फिर्ता नभएको पनि मगरले जानकारी दिए।

धितोपत्र दलाल व्यवसाय गर्न चाहनेले कम्पनी कानुनमा तोकिएको मापदण्ड पुरा गरी नेप्सेको सिफारीस सहित धितोपत्र बोर्डमा आवेदन दिनु पर्नेछ । धितोपत्र बोर्डमा दिएका आवेदन उपर बोर्डले आवश्यक अध्ययन गरेर उपयुक्त लागेका कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमतीपत्र प्रदान गर्नेछ।

नेप्सेको सिफारीस लिएका ४५ कम्पनी मध्ये २६ कम्पनीले बोर्डमा आवेदन दिइसकेको धितोपत्र बोर्डका प्रबक्ता रुपेश केसीले जानकारी दिए । “सोमबार दिउँसो ३ बजेसम्ममा धितोपत्र दलाल कम्पनीका लागि २६ कम्पनीको आवेदन आएको छ,” उनले भने,“सोमबार कार्यालय समय समाप्त हुदाँसम्म अझै पनि आउने भएकाले यो नै अन्तिम होइन।”

नेप्सेले सिफारीस गर्ने र धितोपत्र बोर्डले आवेदन लिने काम गरिरहेको भएपनि ब्रोकरको संख्या थप गर्ने विषयमा चौतर्फी उजुरी परेको छ । धितोपत्र बोर्डले सीमित व्यक्ति तथा व्यवसायीको प्रभावमा ब्रोकर लाइसेन्स दिन लागेको भन्दै अर्थ समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उक्त प्रक्रियाको विरोधमा उजुरी परेको छ।

विभिन्न निकायमा परेका उजुरी मध्ये निर्वाचन आयोगले बुधबारसम्मको समय दिएर स्पष्टिकरण सोधेको छ । त्यसैगरी अर्थ समितिले विवरण माग गरिसकेको छ भने अख्तियारले पनि आफ्नै प्रक्रियाबाट उजुरी उपर कारबाहि अघि बढाएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले पनि सम्बन्धित नियकासंग छलफल गरेर उपयुक्त निर्णय लिने तयारीमा छ।

नयाँ स्टक र ब्रोकर थप्ने धितोपत्र बोर्डको प्रक्रिया विरुद्ध अख्तियारमा पनि उजुरी

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।