पहिलो त्रैमासिक बजेट खर्च र राजश्व संकलन निराशजनक, सरकारी प्रयास कमजोर

0
Shares

चालुआर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल बजेटको साढे १५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।

सरकारको साउन, भदौ, असोज महिनामा बजेट खर्चको अवस्था हेर्दा सरकारी प्रयास कमजोर देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको सरकारले असोज मसान्तसम्म २ खर्ब ७८ अर्ब १६ करोड अर्थात् (१५.५१ प्रतिशत) मात्रै बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २ खर्ब ७८ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यसमध्ये चालुतर्फ २ खर्ब २३ अर्ब ७५ करोड भन्दा बढी बजेट खर्च भएको छ। जुन चालुतर्फ विनीयोजित बजेटको १८.९१ प्रतिशत मात्र हो । सरकारले चालु आवका लागि ११ खर्ब ८३ अर्ब २३ करोड चालु खर्चका लागि बजेट व्यवस्था गरेको छ ।

पहिलो त्रैमाससम्ममा सरकारले गरेको पुँजीगत खर्च निकै कमजोर छ । पुँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ मात्रै भएको छ । जुन कुल पुँजीगत बजेटको ५.१७ प्रतिशत मात्र हो । चालू वर्षमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड बराबरको विकास बजेट ल्याएको थियो।

यो अवधिमा सरकारले वित्तीय व्यवस्थाअन्तर्गत सरकारी संस्थानमा ऋण तथा विभिन्न दातृ निकायहरुलाई ब्याज तथा साँवा भुक्तानीअन्तर्गत जम्मा ३४ अर्ब ७३ करोड खर्च गरेको छ।

चालु आवको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा सरकारको कुल प्राप्ति २ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारले २ खर्ब ८ अर्ब ५८ करोड राजस्व तथा ७९ करोड ३० लाख वैदेशिक अनुदान मार्फत प्राप्ति गरेको हो । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले २२ अर्ब ७४ करोड प्राप्त गरेको छ।

सरकारले एक खर्ब ८९ अर्ब ३८ करोड कर राजस्व तथा १९ अर्ब २० करोड गैरकर राजस्व संकलन गरेको छ । तीन महिनाको अवधिमा वार्षिक लक्ष्यको १४.८७ प्रतिशत राजश्व संकलन भएको छ भने वैदेशिक अनुदान वार्षिक लक्ष्यको १.४३ प्रतिशत प्राप्त भएको महालेखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।