निजी क्षेत्रबाट नेपालमा दूरसञ्चार सेवा प्रवाह गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
एनसेल आइकोन भवन लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजे सभा बोलाइएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गर्ने भएको छ । लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेपनि कम्पनीले कति लाभांश वितरण गर्ने सम्बन्धमा भने केही उल्लेख गरेको छैन ।
सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
साधारण सभामा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
एनसेल नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । स्थापनाकालमा मेरो मोबाइलबाट जिएसएम सेवाको थालनी गरेको कम्पनीको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग थियो। अक्टोबर २००८ मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी टेलिया सोनेरासँग अनुबन्ध गरेको थियो । मोबाइल सेवालाई नेपालकै नम्बर एक मोबाइल सेवा बनाउने दिशामा कम्पनीले पुरानो नाम मेरो मोबाइललाई परिवर्तन गरेर एनसेल राखेको हो ।
सन् २०१६ अप्रिल १२ मा एनसेल आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको भाग बनेको हो । यो कम्पनीभन्दा पहिला राज्यको स्वामित्वमा रहेको नेपाल टेलिकम मात्र रहेकोमा यस कम्पनीले टेलिकमको एकाधिकार तोडेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया