पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अध्ययनका लागि भारतीय सरकारी कम्पनी एनएचपीसीले सर्वेक्षण अनुमति पाएको छ ।
लगानी बोर्डको कार्यालयले बिहीबार सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको हो । बोर्डको ५२ औ बैठकले ७५० मेगावाटको सो आयोजना निर्माणका लागि लगानी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेसँगै कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी आयोजना अध्ययनको अनुमति दिएको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले एनएचपीसीका उपमहाप्रबन्धक असोक कुमार जोसीलाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरेका थिए । अनुमतिपत्र अनुसार एनएचपीसीले अबको तीन महिना भित्र इन्सेप्सन रिपोर्ट र त्यसको २१ महिनामा विस्तृत आयोजना प्रतिवेदन पेश गर्नुपर्ने छ ।
पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि एनएचपीसी सँग गत भदौ २ गते समझदारी भएको थियो । यस अघि गत जेठ ३१ गते मन्त्रीपरिषद बैठकले वार्ताद्धारा परियोजना विकासका लागि एनएचपीसीलाई परियोजना अध्ययनको स्वीकृति दिएको थियो ।
एनएचपीसीले अब परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवं वातावरणीय, ऊर्जा बजारको सुनिश्चिता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना दस्तावेज तयार गरी २ वर्षभित्र लगानी बोर्ड समक्ष पेश गर्नुपर्नेछ ।
सर्वेक्षण अनुमति प्रदान गर्दै बोर्ड अध्यक्ष भट्टले परियोजना विकाससँगै विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्ने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया