दुई महिनामा नेपाल भित्रियो एक खर्ब ८७ अर्ब रेमिट्यान्स

0
Shares

चालु आर्थि वर्ष सुरु भएयताको पहिलो दुई महिना अर्थात साउन र भदौमा नेपालमा एक खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै २० प्रतिशतले धेरै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ भदौमा ९५ अर्ब १९ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । जुन साउन महिनाको तुलनामा २ अबए ९८ करोड बढी हो । साउन महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १८७ अर्ब ४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । विदेशमा रहेका नेपालीले आफ्ना आफन्तलाई दशैंका खर्चको रकम पठाउँदा साउनमा भन्दा भदौमा रेमिट्यान्समा सुधार आएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।