
रुपान्तरणकारी योजनाका रुपमा निर्माणाधीन अरुण तेश्रो (९०० मे.वा.) जलविद्युत परियोजनाको उत्पादन तर्फको निर्माणस्थल र वितरण तर्फको प्रशारण लाइनको प्रगतिको सम्बन्धमा एक उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न भएको छ।
भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारणलाइन क्षेत्र समेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तर्किया कार्यक्रम सम्पन्न गरिएको लगानी बोर्डले जनाएको छ ।
उक्त अन्तक्रिया कार्यक्रममा अरुण तेश्रो जलविद्युत परियोजना र प्रसारणलाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयहरूमा छलफल भएको थियो ।
छलफलका क्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषयहरू समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिए । साथै उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले अरुण तेश्रो जलविद्युत परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई विना अवरोध प्रभावकारी रुपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आव्हान गरे।
उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले गरेका थिए । भ्रमणमा नेपाल सरकारका सचिवहरु, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधी समेतको सहभागिता रहेको थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया