लक्ष्मी बढाउँदै बन्द भयो सेयर बजार, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

तिहारअघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेर स्वागत गर्दै बन्द भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअघिको अन्तिम कारोबार दिन  आज लगानीकर्ताकाे सेयरकाे भाउ बढेर थप लक्ष्मी भित्र्याउँदै सेयर बजार बन्द भएको हो ।

यो वर्ष मंगलबार सुर्यग्रहण लाग्ने भएकाले सोमबार नै घरघरमा दीप प्रज्वलन गरी लक्ष्मीपुजा गरिँदैछ । सरकारले भोलिदेखि सार्वजनिक विदा दिने भएकाले कार्तिक १३ गते आइतबार (छठ) सम्म नै विदा रहेको छ । अब १४ गते सोमबार मात्र बजार खुल्नेछ ।

आइतबार नेप्से १४.३५ अंकले बढेर १८५८.४९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स २.८८ अंकले बढेर ३६५.९३ बिन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीका १५ लाख ३८ हजार ०४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँमा खरिद बिक्री भएका छन् । १३ हजार ८१ वटा संख्यामा भएको खरिद बिक्रीबाट सो रकम बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएका होटल तथा पर्यटनमुलक र म्युचुअल फण्ड बाहेक ११ वटै उपसमुहगत सूचक बढेका छन् । विकास बै.क, जलविद्युत र निर्जीवन बीमाको सूचक १ प्रतिशत बढीले वृद्धि भयो ।

आइतबार कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रह्यो ।बैंकको ५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार ३१९ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै नबिल बैंक ३.३९ करोड, नेपाल बैंक ३.२० करोड, एनआईसी एशिया बैंकको संस्थापक २.२९ करोड, गरिमा विकास बैंक १.५१ करोड, प्रभु बैंक १.४९ करोड, रिडी पावर १.४५ करोड, नेपाल टेलिकम १.४० करोड, अभियान लघुवित्त १.३१ करोड र हिमालयन डिष्टिलरीको १.२२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

 

आजको कारोबारमा रुरु जलविद्युत कम्पनी र सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेपछि सो कम्पनीका सेयरमा लगानी गरेका लगानीकर्ता मालामाल भएका छन् । रुरु जलविद्युतको सेयर ७६ ले बढेर ८३६ रुपैयाँ पुग्दा सयपत्री हाइड्रोपावरको २५.९० ले बढेर २८५ रुपैयाँ पुगेको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड–१ को ७.८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४.९६, जनउत्थान लघुवित्त ४.१५ र किसान लघुवित्तको सेयरमूल्य ४.०४ प्रतिशतले बढेको छ । मिथिला लघुवित्त, लक्ष्मी इक्वीटी फन्ड, सानिमा बैंक र अपर हेवाखोला जलविद्युत आयोजनाको सेयरमूल्य साढे ३ प्रतिशत बढीले बढेको छ ।

उता आजको बजारमा सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमूल्य सर्वाधिक ९.५५ प्रतिशतले घटेर ८.०५ रुपैयाँमा झरेको छ । यस्तै अभियान लघुवित्त ७.६०, महुली लघुवित्त ४.०३, बेष्ट फाइनान्स ३.१८ र एनआइबिएल प्रगति फण्डको इकाईमूल्य ३.०३ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।