बैंकहरूको औसत आधार दर दोहोरो अंकमा,कात्तिकदेखि कर्जाको ब्याज बढ्यो

0
Shares

भदौ महिनामा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर (बेस रेट) नै दोहोरो अंकमा पुगेको छ । पछिल्ला महिना निरन्तर बढ्न थालेको औसत आधार दर भदौमा १०.०१ प्रतिशत पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ०७८ भदौमा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर ६.८९ प्रतिशत थियो ।

आधारदरमा भएको वृद्धि अनुसार यहीं कात्तिक १ देखि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि बढाएका छन् । हरेक तीनरतीन महिनामा औसत आधार दरमा आएको परिवर्तन अनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न पाउँछन् । यही व्यवस्था अनुसार कात्तिकदेखि कर्जाको ब्याजदर बढेको हो ।

छुट्टछुट्टै रुपमा बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखदेखि नै दोहोरो अंक माथि पुगेको थियो । तर औसतमा भने दोहोरो अंकभन्दा कम रहँदै आएको थियो । भदौमा भने औसतमै दोहोरो अंकमा पुगेको हो । यस्तै २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमश: ४.९२ र ८.५७ प्रतिशत रहेका थिए ।

२०७८ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.९८ प्रतिशत रहेकोमा २०७९ भदौमा ९.०९ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ भदौमा ४.७५ प्रतिशत रहेकोमा २०७९ भदौमा ८.५० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ भदौमा ८.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ४.६८ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।