सात वाणिज्य बैंकको लाभांश घोषणा, १८ काे अझै बाँकी

0
Shares

सूचीकृत २५ वाणिज्य बैंकमध्ये हालसम्म ७ वटा बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।  अझै १८ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी छ ।

लाभांश घोषणा गरेका बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेशन, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक र स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेड रहेका छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै २०.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै स्ट्याण्डर्ड चार्टड बैंक नेपालले १६.५० प्रतिशत नगद, ग्लोबल आईएमई बैंकले ३ प्रतिशत बोनस सहित १३.६० प्रतिशत, कुमारी बैंक १२.५० प्रतिशत नगद, एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सहित ११ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस सहित १०.९८ प्रतिशत, र सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सिटिजन्स बैंकले कार्तिक ४ गते नै साधारण सभा सम्पन्न गर्दै लाभांश अनुमोदन गराइसकेको छ भने कुमारी बैंकले कार्तिक २१ गते तथा एनसीसी बैंकले मंसिर २ गते वार्षिक साधारण सभा डाकेको छ ।

लाभांश घोषणा गर्न बाँकी रहेका १८ बैंकहरुमा नबिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, मेगा बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन् ।

सञ्चालनमा रहेका २६ मध्ये राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत रहेको छैन । बै.कमा गाभिएको एनआईडिसी डेभलपमेन्ट बैंकमा एक प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा भएपनि राष्ट्रिय वाणिज्य बैंकले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।