फेडको नीतिगत बैठकको निर्णय सार्वजनिक हुनुअघि नै विश्व सेयर बजार ओरालो लाग्दै

0
Shares

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले नीतिगत बैठकको निर्णय सार्वजनिक गर्नु अघि नै विश्व सेयरबजार ओरालो लागेको छ ।

४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मुद्रास्फीति नियन्त्रणका लागि औसत ब्याजदर वृद्धि गरिरहेको छ । आर्थिक गतिविधिलाई सुस्त पारी मूल्य नियन्त्रणमा ल्याउने नीति फेडरल रिजर्भले अपनाइरहेको छ ।

फेडले निरन्तर पाँचौ पटकसम्म औसत ब्याजदर वृद्धि गर्दा पनि मूल्यवृद्धि नियन्त्रणमा आउन सकेको छैन । सेप्टेम्बर महिनाको मुद्रास्फीति दर ८.२ प्रतिशत रहेको छ । यो दर अर्थशास्त्रीहरुले गरेको आकलन भन्दा बढी हो । सेप्टेम्बर महिनामा पनि मूल्यवृद्धि दर नियन्त्रणमा नआएपछि फेडले थप आक्रामक कदम उठाउन सक्ने लगानीकर्ताहरुको प्रक्षेपण छ ।

फेड अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्न आफूहरु दृढताका साथ लागिपरेको र अर्थतन्त्र सुस्ताए पनि आफूहरुले मूल्यवृद्धि नियन्त्रणलाई नै केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आजको नीतिगत बैठकपछि फेडले ०.७५ प्रतिशतले ब्याजदर बढाउने अनुमान लगानीकर्ता र सेयर लगानीकर्ताहरुले गरेका छन् ।

यसैबीच आज जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.२ प्रतिशतले घटेको छ । यसैगरी जापानको सेयर सूचांक निकेई ०.१ प्रतिशतले ओरालो लागेको छ । यसैगरी एस एन्ड पी ५०० सूचांक ०.४१ प्रतिशत, नास्डाक् कम्पोजिट ०.८९ प्रतिशतले घटेको छ ।

यसैगरी भारतको निफ्टी ५० सूचांक ०.०५ प्रतिशत र सेनसेक्स सूचांक ०.०७ प्रतिशतले घटेको छ । नेपालको सेयर सूचांक नेप्से प्रि–ओपनिङमा ०.६० प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।